काठमाडौं, २७ जेठ – मनसुनको आगमनसँगै देशभर डेङ्गीको संक्रमण फैलिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार, जनवरी १ देखि जुन ८ सम्मको अवधिमा ७२ जिल्लामा एक हजार २ सय ५५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। सामान्यतया असारदेखि भदौसम्म डेङ्गी संक्रमणको उच्च जोखिम रहने समय मानिन्छ।
महाशाखाको तथ्याङ्कले सबैभन्दा बढी संक्रमित काठमाडौंमा १३२ जना रहेको देखाएको छ। त्यसैगरी कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित भेटिएका छन्।
ईडिसिडीको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष मनसुन चाँडै सुरु भएको र मौसमविद्हरूले धेरै पानी पर्ने आंकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना औंल्याएका छन्। उनले भने, “यद्यपि हामीसँग संक्रमणको यकिन पूर्वानुमान गर्ने पर्याप्त तथ्याङ्क छैन, तर धेरै पानी पर्दा लामखुट्टेको प्रजननका लागि पानी जम्ने ठाउँहरू बढ्ने हुँदा जोखिमलाई नकार्न सकिँदैन।”
डा. दाहालका अनुसार डेङ्गीलाई शून्यमा झार्न वा यसको कारक लामखुट्टेलाई पूर्ण रूपमा सखाप पार्न नसकिए पनि नियन्त्रण भने सम्भव छ। “डेङ्गीको संक्रमण र यसबाट हुने मृत्युदर घटाउन सकिन्छ। यसका लागि नागरिक, समुदाय तथा सरकारी-गैरसरकारी सबै निकायको हातेमालो र समन्वय अपरिहार्य छ,” उनले भने।
के हो डेङ्गी र कसरी बच्ने?
डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल ज्वरो हो। यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै लामखुट्टेको टोकाइबाट जोगिनु हो। विज्ञहरूले निम्न उपायहरू अपनाउन आग्रह गरेका छन्:
-
घर वरिपरि वा खाल्डाखुल्डीमा पानी जम्न नदिने र पुरिहाल्ने।
-
पानीका ट्याङ्की, ड्रम, बाल्टिन जस्ता भाँडाहरूलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने।
-
प्रयोगमा नआउने टायर, बोतल, बट्टा जस्ता वस्तुहरूमा पानी जम्न नदिन उचित व्यवस्थापन गर्ने।
-
घरबाहिर निस्कँदा पूरा शरीर ढाक्ने कपडा लगाउने।
-
सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्ने।
-
खानेपानी वा ढल चुहिएको भए तत्काल मर्मत गर्ने।