पहिरोले यी पाँच मुख्य राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

by cityhalkhabar
2 views

काठमाडौं , १ असार – वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो जाँदा कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार मुख्य पाँच  राजमार्ग अवरुद्ध भएका हुन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित रवि-राके-भेडेटार सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । यसैगरी, खोटाङको दिक्तेल-गाईघाट सडक खण्ड पनि पूर्ण रूपमा बन्द हुँदा तराईसँगको सीधा सम्पर्क टुटेको छ । यद्यपि, खोटाङकै हलेसी तुवाचुङ नगरपालिका-१० बर्खेटारस्थित मध्य पहाडी लोकमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास जारी रहे पनि वर्षा नरोकिएकाले कठिनाइ भइरहेको छ ।

बागमती प्रदेशमा पनि पहिरोले जनजीवन प्रभावित पारेको छ । काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथ मकवानपुरको भिमफेदी गाउँपालिका-८ मर्याङडाँडामा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग पनि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा खसेको पहिरोले बन्द भएको छ ।

काठमाडौं उपत्यकाभित्र ललितपुरको बागमती गाउँपालिका-६ रुम्बाडाँडामा पहिरो जाँदा आश्राङदेखि गिम्दी जाने सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प छ । प्रहरीले अवरुद्ध सडक खुलाउनका लागि सम्बन्धित निकायसँगको समन्वयमा डोजर तथा अन्य उपकरण प्रयोग गरी प्रयास जारी राखेको जनाएको छ ।

मनसुन सक्रिय रहेकाले पहाडी राजमार्गहरूमा यात्रा गर्दा उच्च सावधानी अपनाउन र यात्रा सुरु गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ । आकस्मिक अवस्थामा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइनमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।