नारायणगढ-बुटवल खण्ड पूर्णरूपमा अवरुद्ध: भारी वर्षाका कारण सवारी आवागमन ठप्प

by cityhalkhabar
5 views

काठमाडौँ, ५ असार – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्ड गए रातिदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण विनयी खोलाको डाइभर्सन बगाएको र दाउन्ने क्षेत्रमा सडक चिप्लो भएकाले यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, विनयी खोलामा पुल नहुँदा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएकोमा भारी वर्षापछिको बाढीले त्यसलाई पूर्ण रूपमा बगाइदिएको छ। यसका साथै, दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जमेको हिलो र चिप्लोका कारण सवारी चलाउन निकै कठिन भएको छ। प्रहरीले राजमार्गमा यातायात आवागमन सहज नभएसम्म यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

पूर्वबाट पश्चिम जाने सवारीसाधनका लागि: नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान सकिनेछ। काठमाडौँबाट पश्चिम जाने सवारीसाधनका लागि: मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान सकिनेछ।

पश्चिमबाट पूर्व जाने सवारीसाधनका लागि: बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यतर्फ जान सकिनेछ। साना सवारीसाधनका लागि: सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिनेछ। यात्रुहरूलाई यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।