काठमाडौं, – प्रत्येक वर्ष साउन १५ का दिन मनाइने ‘खीर खाने दिन’ आज घरघरमा खीरको बास्नासँगै उल्लासपूर्वक मनाइँदै छ । वर्षा ऋतुको मध्यमा पर्ने यो दिन नेपाली समाजमा सांस्कृतिक, सामाजिक र स्वास्थ्यको दृष्टिकोणले विशेष महत्त्व राख्ने पर्व हो । असार १५ मा दही च्यूरा खाएर मानो रोप्ने किसान साउन १५ मा खीर खाएर उत्सव मनाउने गर्छन्, जसले कृषि संस्कृति र खानपान परम्पराबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ ।
किन खाइन्छ खीर?
साउन महिनामा झरी र बादलले गर्दा शरीर कमजोर हुने र रोग लाग्ने सम्भावना बढी हुन्छ। यस्तो बेला दूध, चामल, चिनीका साथै मरमसला (ल्वाङ, सुकमेल, दालचिनी, केसर) राखेर बनाइएको तातो खीरले शरीरलाई ऊर्जा दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार, संस्कृतमा ‘पायस’ भनिने खीरलाई सात्विक भोजनमध्ये उत्तम मानिन्छ। यसैले देवकार्यदेखि पितृकार्यसम्म खीरको विशेष महत्त्व छ। “साउनमा हरियो घाँस प्रशस्त पाइने हुँदा गाई-भैँसीले दूध पनि धेरै दिन्छन्। कृषि कार्यबाट थोरै फुर्सद मिलेको यही समयमा उपलब्ध दूधको सदुपयोग गर्दै इष्टमित्र र चेलीबेटीलाई बोलाएर खीर खाने र खुवाउने चलन बसेको हो,” प्रा.डा. गौतम भन्छन्, “यसले सामाजिक सद्भाव र आत्मीयता बढाउँछ।”
धार्मिक र सांस्कृतिक महत्त्व
साउन महिना भगवान् शिवलाई समर्पित महिना हो। शिवलाई दूध र दूधबाट बनेका परिकार अत्यन्त प्रिय हुने भएकाले साउनको मध्यमा खीर चढाउने र खाने प्रचलन बसेको हुन सक्ने अनुमान गरिन्छ। यद्यपि, यसको कुनै ठोस शास्त्रीय प्रमाण नभए पनि यो लोकआस्थासँग जोडिएको छ।
वैदिक कालदेखि नै ऋषिमुनिहरूले श्राद्धजस्ता पितृकार्यमा पायस अर्थात् खीर खुवाउने परम्परा चलाएका थिए, जुन आज पनि कायमै छ।
खीरका अनेक रूप र ‘खीर दिवस’
समयसँगै खीर बनाउने तरिकामा पनि विविधता आएको छ। चामलका साथै साबुदाना, सेवई, मकै र गाजरजस्ता सामग्रीबाट पनि स्वादिष्ट खीर बनाउने गरिन्छ। विशेषगरी, यही मौसममा फल्ने हरियो मकैको खीर निकै लोकप्रिय छ।
यस दिनको महत्त्वलाई उजागर गर्न राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘राष्ट्रिय खीर दिवस’का रूपमा मनाउँदै आएको छ, जसले दुग्ध पदार्थको खपत बढाउन र किसानलाई प्रोत्साहन गर्न मद्दत पुर्याएको छ।