काठमाडौं, – भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को आवाजलाई विश्व मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान पुगेका छन् । प्रधानमन्त्री ओली आइतबार मध्यराति फ्लाई दुबईको विमानबाट दुबई हुँदै तुर्कमेनिस्तानको पर्यटकीय सहर अवाजा प्रस्थान गरेका हुन् ।
नेपाल हाल एलएलडिसी समूहको अध्यक्ष राष्ट्र रहेको सन्दर्भमा यो भ्रमणलाई अन्तर्राष्ट्रिय स्तरमा निकै महत्वका साथ हेरिएको छ । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएका हुन् ।
साउन २० देखि २३ गते (अगस्ट ५ देखि ८) सम्म चल्ने यो सम्मेलनले समुद्रसम्म सीधा पहुँच नभएका विश्वका ३२ भूपरिवेष्टित विकासशील राष्ट्रहरूले भोग्नुपरेका साझा चुनौती र अवसरबारे गहन छलफल गर्नेछ । ‘साझेदारीमार्फत प्रगतिको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनको मुख्य उद्देश्य यी राष्ट्रहरूको व्यापार, कनेक्टिभिटी र दिगो विकासमा देखिएका अवरोध हटाउनु हो । सम्मेलनले आगामी दशक (२०२४-२०३४) का लागि ‘अवाजा कार्ययोजना’ नामक एक रणनीतिक दस्तावेज पारित गर्नेछ, जसले सदस्य राष्ट्रहरूको विकास यात्रालाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
भूपरिवेष्टित राष्ट्रहरूले पारवहन देशहरूमाथिको निर्भरता, उच्च व्यापार लागत, अपर्याप्त पूर्वाधार र विश्व बजारसँगको कमजोर पहुँच जस्ता समस्या झेल्दै आएका छन् । यी समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग, लगानी र सुदृढ साझेदारी निर्माणमा सम्मेलन केन्द्रित रहनेछ ।
अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्री ओलीको भूमिका सम्मेलनमा केन्द्रीय रहनेछ । उनले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको रूपमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । साथै, एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने र विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । यी भेटहरूमा नेपालले भूपरिवेष्टित राष्ट्रहरूका साझा हितका विषयमा पैरवी गर्नुका साथै द्विपक्षीय सम्बन्ध विस्तारमा पनि छलफल गर्नेछ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मी सहभागी छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली सम्मेलन समापनपछि साउन २३ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम सिंहलाई उक्त जिम्मेवारी दिएका हुन् ।