काठमाडौं, – देशकै प्रमुख राजमार्ग नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा ठूला चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द हुन पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहान करिब ४ बजेर २० मिनेट जाँदा ठूला चट्टानका पत्रसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले पहिरो खस्नेबित्तिकै दुईवटा ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए । ‘ठूला चट्टानहरू खसेकाले पन्छाउन केही समय लाग्नसक्छ, तर हामी जतिसक्दो चाँडो सडक सञ्चालन गर्ने प्रयासमा छौँ,’ खनालले भने ।
पहिरोका कारण सडक दुईतर्फी रूपमै बन्द हुँदा नारायणगढबाट मुग्लिनतर्फ जाने र मुग्लिनबाट नारायणगढतर्फ आउने सवारीसाधनको लामो लाम लागेको छ । आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरू बीच बाटोमै रोकिँदा सास्ती खेप्न बाध्य भएका छन् । प्रहरीले पहिरो नपन्छाइएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा धैर्य धारण गरेर बस्न सबैमा अनुरोध गरेको छ ।