मंगलबार बिहानै बानेश्वरमा उत्रिए जेनजी, देशभर चर्कियो आन्दोलन

by cityhalkhabar
69 views

काठमाडौं, – भ्रष्टाचार र बेथिति विरुद्ध ‘जेन जी’ पुस्ताले थालेको आन्दोलन देशभर चर्किएको छ । काठमाडौंको बानेश्वरस्थित संसद् भवन परिसर लगायत उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन जारी छ भने देशभरका प्रमुख सहरहरूमा पनि युवाहरू सडकमा उत्रिएका छन् ।

आन्दोलनको पहिलो दिन हिंसात्मक झडप भएपछि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । काठमाडौंको कलंकी, नयाँ बानेश्वर र संसद् भवन क्षेत्र आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । जेन जी पुस्ताका युवाहरूले केही स्थानका सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सोमबार भ्रष्टाचार विरोधी नारा लगाउँदै नयाँ बानेश्वरमा भेला भएका प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढ्न खोज्दा अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र गोली प्रहार गरेपछि झडप भएको हो ।

काठमाडौं उपत्यकाबाहिर पनि पोखरा, बुटवल, धरान, विराटनगर लगायतका प्रमुख सहरहरूमा जेन जीको आन्दोलन फैलिसकेको छ । युवाहरूले शान्तिपूर्ण र्‍याली तथा विरोध प्रदर्शन गर्दै सरकारलाई चेतावनी दिएका छन् । उनीहरूले देशमा सुशासन कायम नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।