काठमाडौं, २३ आश्विन – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।
आज दिउँसो १ बजे ललितपुरमा बस्ने बैठकले असोज २६ गतेका लागि तय भएको केन्द्रीय समितिको बैठकका कार्यसूचीमाथि छलफल गर्नेछ । कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । जेनजी आन्दोलनका क्रममा सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी भएपछि बैठकस्थल खुलाइएको छैन ।
नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । सभापति देउवा सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो ।
भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका सभापति देउवा हाल स्वास्थ्य लाभ गरिरहेका छन् । यसैबीच, कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस पनि चुलिएको छ ।
पार्टीभित्र देउवाले कार्यवाहक सभापति तोकेर बिदा हुनुपर्ने वा आगामी मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको माग पनि जोडतोडले उठिरहेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको वकालत गर्दै आएका छन् । उनीहरूले नेता शेखर कोइरालासँगको परामर्शमा विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन अभियानसमेत चलाइरहेका छन् ।