विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर

by cityhalkhabar
2 views

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हो।

उनकाअनुसार ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको हो। महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न निवेदन पत्र कार्यवाहक सभापति खड्कालाई बुझाएका छन्।

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गरेको हस्ताक्षरसहितको फाइल बुझेका हुन्। उनले उक्त फाइल बुझेपछि ‘जय नेपाल’ मात्रै भनेका थिए, थप अभिव्यक्ति दिएका थिएनन्। कांग्रेसभित्र मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग पनि भइरहेको छ।