काठमाडौं, – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘विदेश भागेको’ दाबी गरेकै भोलिपल्ट नेपाली कांग्रेसका प्रभावशाली नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारलाई ठाडो चुनौती दिएका छन् । सोमबार आफ्नो जलेको निवास परिसरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले आफू सरकारसँग नडराउने र कहिल्यै नभागेको स्पष्ट पारेका हुन् ।
उनले झिनामसिना कुराले आफूलाई नछुने बताए । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आगजनी र त्यसपछिको भयावह स्थितिको उनले सविस्तार वर्णन गरे । आन्दोलनकारीहरू घरको ढोकामा हान्न थालेपछि आफूले खानासमेत खान नपाएको र परिवारसहित सुरक्षित स्थानमा भाग्नुपरेको उनले बताए । ‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ,’ खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरूले बाहिर निकाल्नुभयो ।’
आगजनीपछि छिमेकीको घरमा र त्यसपछि नेपाली सेनाको ब्यारेकमा रात बिताएको उनले जानकारी दिए । केही दिन तराईमा बसेपछि आफू उपचारका लागि भारत गएको खड्काको भनाइ छ । ‘म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो,’ उनले थपे, ‘त्यसपछि तराईतिर तीन-चार दिन बसेँ ।’
खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको र त्यहाँ आफूलाई डेंगु लागेको जानकारी दिए । भारतमा रहँदा केही मन्त्रीहरूसँग भेटघाट भएको पनि उनले बताए । आफू, श्रीमती र बच्चासमेत बिरामी परेको अवस्थामा उपचारका लागि भारत जानुपरेको उनको स्पष्टीकरण थियो ।
वर्तमान सरकारप्रति कुनै टीका-टिप्पणी गर्न नचाहेको पनि खड्काले बताए । उनले अहिलेको सरकारले निर्वाचन घोषणा गरेको र मुलुक सम्हाल्ने दायित्व बोकेको उल्लेख गरे । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन,’ खड्काले भने, ‘परिस्थितिजन्य सिर्जित सरकारको हो । यो मुलुकको जिम्मा राजनीतिक दलहरूले, समाजमा रहेका नागरिकहरूले लिनुपर्छ ।’