उपचारबाट फर्के लगत्तै नेताहरूलाई बोलाएर देउवाले थाले भेटघाट

by cityhalkhabar
2 views

काठमाडौँ, ३० कार्तिक – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।

देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेन जेड आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् ।

शनिबार साँझ भएको छलफलमा प्रवक्ता डा. प्रकाश शरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवादबारे छलफल गरेका हुन् ।

भेटमा सहभागी महतले भने, ‘चुनावको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको विवाद तपाईँहरू मिलाउनुस् भन्ने आशय थियो । उहाँको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो ।’

काँग्रेसमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने दुई प्रकारका धारणाहरू आएका छन् । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडान राखिरहेका छन् ।

संस्थापन इतरका नेता डा. शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन् । चुनाव अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अघि महाधिवेशन गर्नुपर्ने बैठकबाट निर्णय गरेका छन् । चुनाव अघि महाधिवेशन गर्नुपर्ने माग सहित २४ नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।

शनिबार साँझ दुई घण्टा बढी कुराकानी गरेका चार नेतासँग सभापति देउवाले पार्टी विवादका बारेमा जानकारी लिएका थिए ।सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेट्ने भएका छन् ।