काठमाडौं, २६ मंसिर – मधेशकेन्द्रित दलहरूले बुधबार एकै दिन दुई वटा छुट्टाछुट्टै पार्टी एकीकरण घोषणा गरे । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी (जप्रपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) एकीकृत हुने निर्णय भएकै दिन राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले झापामा पहिचान पक्षधर राजनीतिक पार्टीहरू बीच एकता घोषणा गरेको हो ।
रामुपासँग नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी एक हुने भएका छन् । एकतापछिको पार्टी नाम, विधान र नेतृत्व रामुपाकै रहने भएको छ ।
महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयेश त्रिपाठीको जप्रपा र वृषेशचन्द्र लालको तमलोपाले एकीकरणपछि बन्ने पार्टीको नाम, नेतृत्व र चुनाव चिह्न सार्वजनिक गरेको छैन । अहिले एउटै पार्टी बनाउन लागेका ठाकुर, त्रिपाठी र लाल कुनै बेला तमलोपामै थिए । एकीकृत पार्टीको नेतृत्व ठाकुरले गर्ने र लोसपाको चुनाव चिह्न साइकल राख्ने सहमति भएको एक नेताले बताए ।
तमलोपा अध्यक्ष लाल भने केही विषय टुंगिन बाँकी रहेको बताउँछन् । उनले नेतृत्वको विषयमा भने आफूहरू बीच विमति नरहेको बताए । विश्लेषक चन्द्रकिशोर जेनजी आन्दोलनपछि मधेशवादी दलहरूमाथि मिलेर जाने दबाब बढेको बताउँछन् । उनी भन्छन्, ‘ग्रासरुटको अत्यधिक दबाबपछि उनीहरू सकेसम्म एकता नभए पनि चुनावी मोर्चाको तयारीमा लागेका हुन् ।’
