भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता

by cityhalkhabar
1 views

काठमाडौं, ३ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।

पाँच उपाध्यक्ष पदका लागि ११ जना, तीन उपमहासचिव पदका लागि ६ जना तथा नौ सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव पदमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, खगराज अधिकारी, अग्नि खरेललगायत उम्मेदवार छन् ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

मतगणनाका लागि ८० वटै मेसिनको फरक-फरक मुचुल्का तयार गरिँदैछ । त्यसपछि मतगणना सुरु हुनेछ । निर्वाचन आयोगको उपाध्यक्ष सानुराज पोखरेलका अनुसार गणना सुरु भएको करिब ३ घण्टामा परिणाम आउनेछ ।