काठमाडौं, ३ पुस – नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत ल्याउँदा ईश्वरले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
त्यस्तै महासचिवमा पनि ओली पक्षीय शंकर पोखरेलले नै जितेका छन् । उनले सुरेन्द्र पाण्डेलाई पछाडि पारेका छन् । शंकरले १ हजार २२८ मत पाए । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन् ।
उपमहासचिवमा रघुवीर महासेठ, योगेश भट्टराई र लेखराज भट्ट विजयी भएका छन् । ईश्वर पोखरेल पक्षका उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै पराजित भएका छन् ।
९ सचिवमा महेश बस्नेत सर्वाधिक मत १५४४ ल्याएर विजयी भएका छन् । त्यस्तै पद्माकुमारी अर्याल १५३० मतसहित दोस्रो स्थानमा रहेर जितिन् ।छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कँडेल ११८५,
राजन भट्टराई ११८१, र भानुभक्त ढकाल ११०८ मतसहित विजयी भएका छन् ।
विद्युतीय भोटिङ मेसिन बाट चिप्स संकलन गर्ने प्राविधिक कार्य सम्पन्न भएपछि निर्वाचन आयोगले मतदानको मुचुल्का उठाएर र प्रतिनिधिहरूको सहमति लिएर गणना प्रक्रिया अगाडि बढाएको थियो ।
बिहीबार बिहान करिब ७ बजे मतदानको सम्पूर्ण प्रक्रिया सकिएको थियो। निर्वाचन आयोगका अनुसार विद्युतीय मेसिनको प्रयोग भएकाले मतगणना शुरु भएको करिब तीन घण्टाभित्रै सबै पदको अन्तिम नतिजा आइसक्ने सम्भावना छ। यस महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् भने बाँकी ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए ।
यस निर्वाचनबाट अध्यक्ष, महासचिवसहित १९ पदाधिकारीमा दुई जनामात्र ओली खेमा बाहिरका हुन् । माओवादी छाडेर आएका उपाध्यक्षका उम्मेदवार रामबहादुर थापा बादल र उपमहासचिवमा लेखराज भट्टले लोकप्रिय मत पाएका छन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीको मतगणना भइरहेको छ ।
