काठमाडौं, ११ पुस – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डकाे निवासमानै पुगेर छुट्टाछुट्टाै भेटवार्ता छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् । खरेलले देउवालाई भेटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ ।
‘शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्राथमिकता चुनाव नै हो, संसद् पुनर्स्थापना होइन भनेर भन्नुभएको छ,’ खरेलले देउवासँगको भेटवार्ताबारे जानकारी गराउँदै भने, ‘कांग्रेसको तर्फबाट निर्वाचन समयमा सम्पन्न गर्नका लागि गर्नुपर्ने कुराहरू गर्छ भन्नुभएको छ ।’
साथै, एमाले अध्यक्ष ओलीले निर्वाचनको सुरक्षाबारे चासो राखेका छन् । ‘केपी शर्मा ओलीले सुरक्षाको चासो राख्नुभएको छ । निर्भयताका साथ चुनावमा भाग लिने वातावरण बनाउनुपर्छ, त्यो बनाउन सरकारले थप गृहकार्य गर्नुपर्यो भन्नुभएको छ,’ खरेलले भने ।

उनका अनुसार, सिद्धान्तत: एमालेले जनमतलाई नै मान्ने भएकाले निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अघि बढ्ने कुरामा आफ्नो पार्टी स्पष्ट भएको ओलीले बताएका छन् ।
‘सिद्धान्तत: नेकपा एमाले जनमतलाई मान्ने पार्टी भएकाले निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अघि बढ्नुपर्छ भन्नेमा स्पष्ट छ । निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने उहाँहरूको कुरा छ,’ खरेलले ओलीसँगको भेटवार्ताबारे जानकारी गराउँदै भने ।
त्यस्तै, नेकपाका संयोजक प्रचण्डले निर्वाचनको विकल्प नभएको बताएका छन् । साथै, उनले फागुन २१ मै निर्वाचन हुनुपर्ने पनि बताएका छन् ।
‘निर्वाचनको विकल्प नभएकाले जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन २१ मै हुनुपर्छ भन्ने दोहोर्याउनुभएको छ । निर्वाचनका लागि सघाउने पनि प्रचण्डले भन्नुभएको छ,’ उनले भने ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि राजनीतिक भेटवार्तालाई तीव्र बनाएको उनले बताए । सरकार चुनाव गराउने कुरामा कटिबद्ध रहेको उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीज्यूले पनि राजनीतिक भेटवार्तालाई तीव्र रुपले अघि बढाउनुभएको छ । हामीले मुख्य राजनीतिक दल, नेता र अन्य सबैसँग भेटघाट गरेका छौं । सरकार चुनाव गराउने कुरामा कटिबद्ध छ,’ प्रचण्डसँगको भेटपछि सञ्चारमन्त्री खरेलले भने ।
