काठमाडौं, ९ वैशाख- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्री गुरूङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारी विवादमा परेपछि गुरूङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका छन्। स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उनले उल्लेख गरेका छन्। ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्।
गुरूङले मन्त्री भएको एक महिना नबित्दै राजीनामा दिएका हुन्। उनले चैत १३ गते शपथ लिएका थिए।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् :-
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिकस्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु। मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु।
अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदी हामी साँच्चै परिवर्तन चाहन्छौं भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
सुधन गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अनुत्तरित थिए। पहिलो प्रश्न उनले आफ्नो सम्पत्ति विवरणमा सार्वजनिक गरेका करोडौं मूल्यका सेयर लगानीको स्रोत नै हो। गुरूङले आफ्नो स्पष्टीकरणमा ‘ऋण लिएर सेयर किनेको’ दाबी गरेका छन्। यसलाई पुष्टि गर्न मिडियामा सार्वजनिक भइसकेका दुईवटा कम्पनीको नाम पनि उल्लेख गरेका थिए। यी कम्पनीको नाम उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका थिएनन्। मिडियाले समाचार लेखेपछि त्यसलाई पुष्टि गरेका मात्र हुन्।
उनी लेख्छन्, ‘२५ लाखको सेयर लुकाइएको भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषदको वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।’
यिनै दुई कम्पनीको सेयर लगानीको स्रोतबारे उनी अगाडि लेख्छन्, ‘मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ। उक्त तमसुक अनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।’
तर यो स्पष्टीकरणले उनीमाथि उठेका प्रश्नको जबाफ दिँदैन। किनभने, प्रश्न मिडियाले अहिलेसम्म पत्ता लगाएका यी दुई कम्पनी (स्टार माइक्रो र लिबर्टी माइक्रो) को सेयरसँग मात्र जोडिएको छैन। प्रश्न उनले आफ्नो सम्पत्ति विवरणमा चार शीर्षकअन्तर्गत सार्वजनिक गरेको समग्र सेयर स्वामित्वसँग जोडिएको छ।
गृहमन्त्री गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्ने हो भने उनले चार शीर्षकमा कुल ४ करोड ३१ लाख ५६ हजार रूपैयाँ बराबरको सेयर आफ्नो स्वामित्वमा रहेको खुलाएका छन्।
यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० लाख रूपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् भने लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। त्यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्। उनले पूर्ण विवरण खुलाएका यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्।
त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर रहेको विवरण गुरूङले दिएका छन्। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका वा आगामी दिन सूचीकृत हुने कम्पनीहरूको सेयर मूल्य हो।
गृहमन्त्री गुरूङले धितोपत्र बजारमा कारोबार हुने यी कम्पनी कुन-कुन हुन् भनेर सम्पत्ति विवरणमा खुलाएका छैनन्। यसमध्ये ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर दोस्रो बजारबाट किनेका हुन् भने बाँकी २ करोड २१ लाख २२ हजार ६२० रूपैयाँको सेयर विभिन्न कम्पनीको संस्थापक सेयर हो।
सोमबारको स्पष्टीकरणमा भनेजस्तै उनले ऋण लिएरै सबै सेयर किनेका हुन् भने सम्पत्ति विवरण भर्दा किन झूटो स्रोत देखाए? किन उनले व्यवसाय, पैतृक सम्पत्ति वा लगानीबाट सेयर किनेको भने? ऋण लिएर सेयर किनेका हुन् भने त्यही कुरा सम्पत्ति विवरणमा किन खुलस्त पारेनन्? यसले पनि उनको सेयर खरिदको स्रोतमा शंका जन्माउँछ।
तेस्रो प्रश्न, गृहमन्त्री गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ‘ऋण लिए/दिए/तिरेको विवरण’ भर्ने ठाउँ पनि छ। तर यो ठाउँ उनले खाली छाडेका थिए। हामीले अन्य मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा कतिपयले ऋण तिर्नुपर्ने रकम खुलाएका छन्। कतिपय मन्त्रीले त गाडी किन्दा लिएको ऋण पनि सम्पत्ति विवरणमा भरेका छन्।
गृहमन्त्री गुरूङले भने उक्त ठाउँ खाली छाडेर आफूले कसैलाई पनि ऋण तिर्न वा ऋण उठाउन बाँकी छैन भनेर देखाएका छन्, जुन उनको स्पष्टीकरणसँग मेल खाँदैन। त्यसैले गृहमन्त्री गुरूङले भनेझैं यदि उनले ऋण लिएरै सेयर किनेका हुन् भने त्यो ऋण सम्पत्ति विवरणमा किन खुलाएनन्? किन उनले ढाँटे?
चौथो प्रश्न, गुरूङको स्वामित्वमा रहेको सेयरको किसिम पनि सम्पत्ति विवरणसँग मेल खाँदैन। उनले आफ्नो सम्पत्ति विवरणमा सबै ‘साधारण’ सेयर रहेको देखाएका छन्। जबकि, उनीसँग साधारणभन्दा संस्थापक सेयरको हिस्सा धेरै देखिन्छ। यो तथ्य उनले किन लुकाए?
पाँचौं प्रश्न, गृहमन्त्री सुधन गुरूङले आफ्नो स्पष्टीकरणमा दीपक भट्टसँगको व्यापारिक सम्बन्धबारे केही बोलेका छैनन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका दीपक भट्टसँगको उनको व्यावसायिक साझेदारीले नै धेरै शंका जन्माएको हो, जसलाई उनको स्पष्टीकरणले सम्बोधन गर्दैन।
दीपक भट्टको पहलमा स्थापना भएका कम्पनीमा सुधन गुरूङको संस्थापक सेयर हुनुको अर्थ सामान्य सेयर खरिद वा लगानीको विषय मात्र होइन। यसले दुई जनाबीचको गहिरो सम्बन्ध संकेत गर्छ। यसले पनि सुधन गुरूङले ती कम्पनीमा गरेका लगानीको स्रोतबारे प्रश्न उठाउँछ। तर उनले यसको जबाफ दिएका छैनन्।
