काठमाडौँ, १३ वैशाख – काठमाडौँ उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा आज आइतबार बिहानैदेखि मनोहरास्थित सुकुमवासी बस्तीमा डोजर चलाइएको छ। नदी किनारका सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्ती खाली गर्ने सरकारको अभियानअन्तर्गत यो कदम चालिएको हो।
बस्ती भत्काउनुअघि प्रहरीले साविकको बस्ती क्षेत्रलाई चारैतिरबाट घेरा हालेको थियो। ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भएपछि स्थानीयले डोजर रोक्न गरेको प्रयास सफल हुन सकेन। वर्षौँदेखि बस्दै आएका टहराहरू एकपछि अर्को गर्दै भत्काउन थालेपछि त्यहाँका बासिन्दाहरू अहिले बिचल्लीमा परेका छन्।
आफ्नो थातथलो ढल्न थालेपछि सुकुमवासीहरू आफ्ना सरसामान पोका पार्न र गाईवस्तुहरू सुरक्षित स्थानतर्फ लैजान व्यस्त देखिएका छन्। स्थानीयहरूले रुँदै आफ्ना सामानहरू सडक किनारमा थुपारिरहेका छन् भने कोही आफ्ना चौपायाहरू बाँधेर सुरक्षित ठाउँको खोजीमा भौँतारिरहेका छन्।
यसअघि शनिबार बिहानै थापाथली, गैरीगाउँ र शान्तिनगरका बस्तीहरू खाली गराइएको थियो। आज मनोहरा क्षेत्रमा पनि सोही प्रक्रियालाई निरन्तरता दिइएको हो। सरकारले जोखिमपूर्ण र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने कार्यलाई तीव्रता दिएको छ।
