जगदीश अग्रवाल प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त

by cityhalkhabar
15 views

काठमाडौं, २३ वैशाख – सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन्।

‘स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा. डा. जगदिश प्रसाद अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौं। आइओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसक्नुभएका उहाँले अवैतनिक रूपमा आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउनुहुनेछ,’ प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन्।

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको सन्दर्भमा डा. अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको उनको सचिवालयले बताएको छ। डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्‍याउनेछन्।