रेडियो कमजोर भए सरकार–जनता सम्बन्ध प्रभावित हुन्छ – वानकाअध्यक्ष भट्टराई

by cityhalkhabar
27 views

काठमाडौँ, १५ जेठ -ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (BAN) का अध्यक्ष कुमार भट्टराईले देशभरका रेडियो सञ्चालक, स्टेशन प्रमुख तथा सञ्चारकर्मीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिएका छन्। सातै प्रदेशका विभिन्न एफएम  रेडियो प्रतिनिधिसँगको छलफलमा रेडियो क्षेत्रले भोगिरहेका आर्थिक, प्राविधिक तथा नीतिगत समस्याबारे विस्तृत चर्चा गरिएको हो।

अध्यक्ष भट्टराईले कठिन आर्थिक अवस्था, बढ्दो सञ्चालन खर्च र विज्ञापन बजारको संकुचनका बीच पनि रेडियोहरूले जनतालाई विश्वसनीय सूचना, समाचार तथा जनचेतनामूलक कार्यक्रम प्रदान गर्दै आएको बताए। उनले रेडियोहरू लोकतन्त्र, सामाजिक सचेतना र विपद् व्यवस्थापनका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

उनका अनुसार पछिल्लो समय धेरै रेडियो स्टेशनहरू आर्थिक संकटका कारण सञ्चालनमै कठिनाइ भोगिरहेका छन्। विशेषगरी संगीत रोयल्टी, प्रसारण रोयल्टी, नवीकरण शुल्क तथा करको भारले रेडियो क्षेत्र थप दबाबमा परेको सञ्चालकहरूले बताएका छन्। रेडियो प्रतिनिधिहरूले सरकारसँग यस्ता शुल्कमा राहत, कर छुट तथा नीतिगत सहजीकरणको माग गरेका छन्।

भट्टराईले रेडियो क्षेत्रमा करोडौं रुपैयाँको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रलाई जोगाउन सरकारको विशेष ध्यान आवश्यक रहेको बताए। उनले मानव स्रोत व्यवस्थापन, दक्ष जनशक्ति अभाव तथा प्रविधिगत प्रतिस्पर्धाले पनि रेडियो उद्योगलाई चुनौती थपेको धारणा राखे।

“रेडियो अझै पनि देशका दूरदराज क्षेत्रका नागरिकका लागि सबैभन्दा सहज र भरपर्दो सूचना माध्यम हो,” उनले भने, “यदि रेडियो क्षेत्र कमजोर भयो भने सरकार र नागरिकबीचको सूचना पहुँचमा गम्भीर असर पर्न सक्छ।”

उनले रेडियोको संरक्षण र प्रवर्द्धनका लागि राज्य, निजी क्षेत्र तथा सञ्चार संस्थाबीच सहकार्य आवश्यक रहेको जोड दिए। साथै, बदलिँदो डिजिटल युगसँगै रेडियोले पनि प्रविधिमैत्री कार्यक्रम र अनलाइन प्लेटफर्ममार्फत आफ्नो पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।