सार्वजनिक बिदाका दिन कात्तिक ३० गते पनि राजस्व कार्यालयहरू खुला रहने

by cityhalkhabar
1 views

काठमाडौं, ३० कात्तिक – आन्तरिक राजस्व विभागले सार्वजनिक बिदा घोषणा गरिएको २०८३ कात्तिक ३० गते पनि कर तथा राजस्व कार्यालयहरू खुला राख्न निर्देशन दिएको छ। विभागले कात्तिक २७ गते ठूला करदाता कार्यालय (हरिहरभवन, ललितपुर), मध्यमस्तरीय करदाता कार्यालय (बबरमहल, काठमाडौँ) र देशभरका सबै आन्तरिक राजस्व कार्यालयहरूलाई पत्राचार गर्दै राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय खुला राखी कार्यसम्पादन गर्न अनुरोध गरेको हो।

गृह मन्त्रालयको कात्तिक २७ गतेको सूचनाअनुसार कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा भए पनि सो दिन राजस्व परिचालनको हिसाबले कात्तिक महिनाको मसान्त परेकाले करदातालाई सहजीकरण गर्न कार्यालय खुला राख्न लागिएको विभागले जनाएको छ। विभागका निर्देशक बुद्धि प्रसाद आचार्यद्वारा जारी पत्रमा गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन, २०८३ ले प्रदान गरेका छुट सुविधाहरूको उपयोग तथा बक्यौता फरफारक गर्ने र अन्तःशुल्कजन्य वस्तु निष्काशन गर्ने प्रयोजनका लागि सेवा प्रवाह नियमित गर्न भनिएको छ।

विभागले एनसीएचएल (NCHL) प्रणालीमार्फत हुने राजस्व संकलनमा सहजीकरणका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (कमलादी) तथा जानकारीका लागि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा र नेपाल राष्ट्र बैंक (बैंकिङ विभाग) लाई समेत बोधार्थ पठाएको छ।