अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि सुरु

by cityhalkhabar
2 views

काठमाडौं, २८ जेठ – विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको २३औँ संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकपका रूपमा चिनिएको छ।

मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरूको उपस्थितिमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध उद्घाटन खेल खेल्दै प्रतियोगिताको औपचारिक सुरुआत गर्नेछ। नेपाली समयअनुसार खेल मध्यराति १२ः४५ बजे सुरु हुनेछ।

विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिने फिफा विश्वकपसँग अर्बौँ समर्थकको भावना जोडिएको छ। यही कारण विश्वकपलाई विश्व खेलकुदकै सबैभन्दा धेरै हेरिने र पछ्याइने प्रतियोगितामध्ये एक मानिन्छ। विश्वभरका हजारौँ खेलाडी, लाखौँ प्रत्यक्ष दर्शक तथा करोडौँ टेलिभिजन र डिजिटल माध्यमका दर्शक अहिले फुटबल उत्सवमा रमाउन तयार छन्।

यस पटक ४८ राष्ट्र एउटै सपना बोकेर मैदानमा उत्रिएका छन्—विश्वकप ट्रफी जित्ने सपना। प्रतियोगिता ३९ दिनसम्म चल्नेछ र अमेरिका, मेक्सिको तथा क्यानडाका १६ सहरमा कुल १०४ खेल खेलाइनेछन्। विश्वकप इतिहासमा पहिलो पटक ४८ टोली सहभागी भएका हुन्। यसअघि ३२ टोली सहभागी हुने व्यवस्था थियो।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको ९६ वर्षे इतिहासमा पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। टोली संख्या वृद्धि भएसँगै खेलाडी संख्या पनि बढेर १ हजार २४८ पुगेको छ। विश्व फुटबलमा नयाँ अवसर सिर्जना गर्ने उद्देश्यसहित यस पटक प्रतियोगिताको ढाँचा समेत परिवर्तन गरिएको छ।

४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानका टोली नकआउट चरणमा पुग्नेछन्। यस पटक पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ, जसका कारण फाइनल पुग्ने टोलीले आठ खेल खेल्नुपर्नेछ।

यस संस्करणमा उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओले पहिलो पटक विश्वकप खेल्दैछन्। अर्कोतर्फ अनुभवी स्टारहरू क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, लुका मोड्रिच तथा गुइलेर्मो ओचोआ अन्तिम विश्वकप यात्रामा हुन सक्छन् भने लामिन यामाल, एर्लिङ हालान्ड र अन्य युवा खेलाडी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चम्किने अपेक्षा गरिएको छ।

साविक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने अभियानमा छ भने फ्रान्स, स्पेन, ब्राजिल, इंग्ल्यान्ड र पोर्चुगल प्रमुख दाबेदारका रूपमा रहेका छन्। विश्व फुटबलप्रेमीहरूको एउटै जिज्ञासा छ—इतिहासकै सबैभन्दा ठूलो विश्वकपको ट्रफी अन्ततः कसले उचाल्ला?

यसको जवाफ आगामी जुलाई १९ मा न्युयोर्क–न्युजर्सीमा हुने फाइनलपछि मात्र प्राप्त हुनेछ। तर आजदेखि सुरु हुने फुटबल महाकुम्भले भने आगामी एक महिनाभन्दा बढी समय विश्व खेलकुदको केन्द्रबिन्दु उत्तर अमेरिकालाई बनाउने निश्चित छ।