ई–पासपोर्ट खरिद प्रकरण : आरजु राणा देउवालाई अख्तियारको बयानका लागि म्याद

by cityhalkhabar
12 views

काठमाडौं, ४ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका क्रममा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि ३५ दिने म्याद तामेल गरेको छ।

बुढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार आयोगले राणाको घरमा सूचना टाँसेर निर्धारित अवधिभित्र उपस्थित हुन निर्देशन दिएको छ। उनी हाल उपचारका लागि सिंगापुरमा रहेको बताइएको छ।

आयोग स्रोतका अनुसार ठेक्का प्रक्रियामा राणाको प्रत्यक्ष संलग्नता नदेखिए पनि परराष्ट्रमन्त्रीको हैसियतमा निर्देशन दिएको आशंकामा बयानका लागि बोलाइएको हो।

यसैबीच, आयोगले ई–पासपोर्ट खरिदसँग सम्बन्धित दुई जर्मन कम्पनीका प्रतिनिधिलाई पनि बयानका लागि बोलाएको छ। करिब ७ अर्ब ६५ करोड रुपैयाँको ठेक्का प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई यसअघि नै पक्राउ गरी अनुसन्धान भइरहेको छ।

अख्तियारले सुरक्षित राहदानी छपाइ तथा प्रणाली स्थापनासम्बन्धी ठेक्कामा भ्रष्टाचार भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।