निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित तीन जना सिफारिस

by cityhalkhabar
0 views

काठमाडौं ,  २० असार – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको छ ।

मोरङका कार्की हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत छन् । सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नेछन् ।  दिनेश थपलियाको पदावधि सकिएपछि निर्वाचन आयोगको प्रमुख आयुक्त पद रिक्त रहँदै आएको छ ।

रामप्रसाद भण्डारीले कार्यवाहक नै रहेर २०८२ फागुन २१ गतेको आम निर्वाचन सम्पन्न गराएका थिए । संवैधानिक परिषद्ले पूर्वप्रहरी नायब महानिरीक्षक डा. राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ भएर काम गरेका डा. सुब्बा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भएर अवकाश भएका थिए ।

वाग्ले मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध छन् । हाल उनी सूचना प्रविधि विषयमा अध्ययन-अध्यापन गराउँछन् । वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल (उपन्यायाधिवक्ता) पनि हुन् ।  निर्वाचन आयोगमा दुई पदाधिकारीको पद रिक्त थियो । भण्डारी पनि अवकाशमा जाने भएपछि तीन जनाको पद रिक्त हुने भएको हो । त्यसैकारणले परिषद्ले तीन जनाको नाम सिफारिस गरेको छ ।