काठमाडौं, १२ भाद्र – सरकारले यही भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका विभिन्न विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित गरेको वताएकाे छ । बाढीका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गर्न औपचारिक निर्देशन दिएको हो । शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकारको प्रयोग गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिइएको छ ।
शुक्रबार सञ्चालित परीक्षामा परिस्थितिवश सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि समेत उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
यी हुन् विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयका ५ निर्देशन:
नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन गर्दछौं । भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ ! ।
यसका साथै देहायबमोजिम आवश्यक व्यवस्था गर्न/गराउन अनुरोध गर्दछौंः
१. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने ।
२. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने ।
३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने ।
४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने ।
५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने ।
वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न/गराउन आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं ।
विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं ।
सस्मित पोखरेल
शिक्षा तथा खेलकुद मन्त्री
