काठमाडौं, २५ भदौ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । शाहले विहिबार नै राष्ट्रपति निवासमा आयोजित कायर्क्रममा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मन्त्री साहलाई राष्ट्रपति रामचन्द पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएपछि सो पदमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिइन् । उनको स्थानमा सुनसरी-४ बाट निर्वाचित दीपककुमार साह नियुक्त भएका छन् । साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन् ।
पार्टी बनाउँदै र छोड्दै हिँडेका नवनियुक्त उद्योग मन्त्री साहले यसबीचमा चार वटा पार्टी चहारिसकेका छन् । उनले जनमत पार्टी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनमत पार्टी गठन गर्ने बेला डा. सीके राउतका सारथि साह रास्वपा सांसद हुँदै मन्त्री पदमा पुगेका छन् ।
पेसाले इन्जितयर साहले जनमत पार्टी गठन गर्न राउतलाई ठूलो सहयोग गरेका थिए । दुवैको अध्ययनको क्षेत्र इञ्जिनियरिङ हुँदा साह र राउत नजिकिएका थिए । जनमत गठनपछि साह उच्च तहका दुई पद उपाध्यक्ष र अनुशासन समितिको प्रमुख बने ।
सुरुमा जनमतले केन्द्रीय कार्यालय साहको भक्तपुरस्थित घरमा राखेको थियो । सूर्यविनायक-३, भक्तपुरमा रहेको साहको घरको भुइँ तलामा जनमतको सुरुवातकालीन पार्टी कार्यालय थियो ।
कुनै बेला पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा भर्ना हुनका लागि राउतलाई आर्थिक जोहो गरिदिने व्यक्ति उनै नवनियुक्त मन्त्री साह थिए । उक्त प्रसंगलाई जनमतका अध्यक्ष राउतले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् ।
पार्टी गठनपछि राउत र साहको सम्बन्ध दिगो भने भएन । अध्यक्ष राउत र तत्कालीन उपाध्यक्ष साहबीचको सम्बन्धमा दरार आउनुमा आर्थिक विषय कारण रहेको उनीहरूको सम्बन्धबारे जानकार मधेशका नेताहरू बताउँछन् ।
राउत र साहबीचको तीन दशक लामो सम्बन्धमा दरार ल्याउने अर्को प्रकरण भने गोमा लाभलाई संघीय सांसदबाट हटाउने निर्णय थियो । अनुशासन आयोगका प्रमुख रहेका साहले गोमा लाभलाई हटाउने निर्णयमा पुनर्विचारको आग्रह गरेका थिए ।
गोमालाई सांसद पदबाट हटाउन अध्यक्ष राउतले पटकपटक तत्कालीन सभामुख देवराज घिमिरेलाई पत्र लेखेका थिए । तर त्यसबेलाका सभामुख घिमिरेले जनमत अध्यक्षको चाहनाअनुसार गोमालाई हटाएनन् ।
सम्बन्ध बिग्रिँदै गएपछि साहलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बन गरेर गत साउनदेखि साहलाई पार्टीबाट नै निष्काशन गरिएको थियो ।
उपाध्यक्ष साहले पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको, विधान विपरीतका गतिविधिमा संलग्न भएको र पार्टी फुटाउन गुटगत बैठक गर्दै हिँडेको जनमतको आरोप थियो । पार्टीबाट निलम्बनका क्रममा पनि उनले पार्टीको नाम, झण्डा, छाप आदिको प्रयोग गरिरहेका थिए ।
जनमतबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन भए पनि उनी राजनीतिमा भने निष्क्रिय बसेनन् । साहले आफ्नै नेतृत्वमा जनस्वराज पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराए । जनस्वराज पार्टीको नामका विरुद्धमा अदालतमा मुद्दा पर्यो ।
जनमत पार्टी परित्याग गरेकाहरूले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै जनमतका अध्यक्ष राउत अदालत गएका थिए । साहको नेतृत्वमा आयोगमा दर्ता भएको जनस्वराज पार्टीलाई अदालतले मान्यता दिएन ।
त्यसपछि उनले अर्को दल दर्ता गराए । साहले नयाँ दल ‘सर्वोदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गराए । उक्त दलले चुनाव चिह्न ‘मकैको घोगा’ प्राप्त गरेको थियो । उक्त दलका अधिकांश व्यक्ति जनमतबाट निस्केका, निष्काशनमा परेकाहरू थिए ।
चुनावको मुखमा साह स्वयं नै रास्वपामा प्रवेश गरे । उनको दल सर्वोदय रास्वपामा विलय भयो । सुनसरीका साहले रास्वपाबाट सुनसरी-४ मा प्रतिनिधिसभाको टिकट पाए ।
चुनावी लहर रास्वपाको पक्षमा आएको बेला उनले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फराकिलो अन्तरले पराजित गरे ।
२०७९ सालमा जनमतबाट चुनावी प्रतिस्पर्धा नगरेका साह पहिलो पटक उम्मेदवार बनेका थिए । उनी ४२ हजार ७७१ मत मत प्राप्त गरेर निर्वाचित हुँदा पराजित कार्कीले १६ हजार ५८७ पाएका थिए ।
सुनसरीस्थित कप्तानगञ्जमा गत साउन १० गते भएको घटनाका विषयमा आफूखुसी प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि पार्टीभित्र प्रश्न उठेको थियो । दुई समुदायबीचमा भएको उक्त घटना विस्तार हुँदै मधेशमा समेत पुगेको थियो । दुई समुदायको विवाद उग्रहुँदा सुनसरीमा ३ र सिरहामा १ जनाको ज्यान गएको थियो ।
गृहमन्त्री सुधन गुरुङको मौखिक निर्देशनमा सुनसरी घटनाको छुट्टै प्रतिवेदन तयार गरेको साहले दाबी गरेका छन् । विना निर्णय आफूखुसी प्रतिवेदन तयार गरेको र उक्त घटनामा रास्वपाका सांसदलाई पनि दोषी देखाएको भन्दै साहका विषयमा पार्टीभित्रै प्रश्न उठेको थियो ।
