राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) द्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण

by cityhalkhabar
15 views

काठमाडौं, २६ भदौं – रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको अप्रत्यासित बाढीका कारण घरबारविहीन भएका प्रभावित परिवारहरूलाई राहत पुऱ्याउने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका सामग्रीहरू विदुर नगरपालिका वडा नं. ७ को वडा कार्यालय (तुप्चे, नुवाकोट) का वडा अध्यक्ष रबिन्द्र नेपालको संयोजकमा कविन्द्र अधिकारी, बासु अधिकारी र सुदिप अधिकारीलाई बालाजुस्थित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नानका अध्यक्ष प्रदिप प्रसाद कोइरालाले प्राकृतिक विपद्को यस कठिन समयमा पीडित नागरिकको घाउमा थोरै भए पनि मलम लगाउनु सामाजिक दायित्व भएको बताउनुभयो। “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अध्यक्ष कोइरालाले आगामी दिनमा पनि नानले यस्ता मानवीय र सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा नानका संस्थापक अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अमृत कुमार पन्थी, कोषाध्यक्ष अरुण अर्याल तथा कार्यसमिति सदस्य अदिप पाठक लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

संघका तर्फबाट प्रभावित क्षेत्रका लागि १५० थान झुल, ६२० थान जुत्ताचप्पल, १५० थान ब्ल्यांकेट र १५० थान भाँडाकुडा (थाल, कचौरा, गिलास) हस्तान्तरण गरिएको छ। प्राप्त राहत सामग्री बुझ्दै कविन्द्र अधिकारीले कठिन परिस्थितिमा विपद् पीडितहरूका लागि महत्त्वपूर्ण सहयोग पुऱ्याएकोमा राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) प्रति हार्दिक आभार व्यक्त गर्नुभयो।