कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय, आज उम्मेदवारी दर्ता हुँदै

by cityhalkhabar
0 views

काठमाडौँ,  २० असोज  – नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ । महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव गरेका हुन् ।

प्रस्तावअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन् । तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ । सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन् । कोषाध्यक्ष भने सभापतिबाट मनोनित गर्ने प्रस्ताव छ ।

२९७ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ ४५ र खुला महिलातर्फ १५ जना रहने प्रस्ताव गरिएको छ । हरेक प्रदेशबाट एक महिलासहित चार, उपत्यकाबाट एक महिलासहित दुई, दलिततर्फ महिलासहित १४, आदिवासी जनजाति २०, खसआर्य १८, मधेशी १३, थारु ६ र मुस्लिमतर्फ पाँच जना रहनेछन् ।

त्यस्तै श्रमिकतर्फ एक महिलासहित तीन, पेशागत विज्ञतर्फ दुई महिलासहित सात र युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ । यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय रहेको थियो ।

सोमबार विधान पारित भएपनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रले मात्र पारित गर्नेछ । मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान भने सोमबारै पारित गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिने भएको हो । आजै दिउँसो ४: ३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन हुनेछ । उम्मेदवारको दरखास्तमाथि दाबी विरोध गर्न दिउँसो ४: ३० देखि ५: ३० बजेसम्मको समय तोकिएको छ। दाबी विरोधमाथि साँझ ५: ३० देखि ६: ३० बजेसम्म जाँचबुझ गरिनेछ भने बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन हुनेछ ।

असोज २१ गते बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन वा उम्मेदवारी सच्याउन निवेदन दिन सक्नेछन् । त्यसपछि बिहान १० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि दिनभरको समय उपलब्ध गराइनेछ ।

निर्वाचन समितिले असोज २२ गते बिहान ७: ३० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाएको छ । मतदान सकिएपछि मतगणना सुरु गरिनेछ र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।