भीम रावल भन्छन् : ‘केपी ओलीले समाजवाद ल्याउने कुरा पत्याइदिनुपर्ने हो ?’

by cityhalkhabar
5 views

काठमाडौँ, १७ पुस – नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले यस्तो प्रश्न गरेका हुन् ।

‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, बिचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ रावलको प्रश्न छ ।

एमालेबाट निष्कासित भएपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् । उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाएका छन् ।

‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ रावलले भने, ‘भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’

‘६ कात्तिकमा स्पष्टीकरण हात पर्‍यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’

उनले अघि प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’ उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए । ‘यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो,’ रावलले भने ।

उनले वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो ? भन्दै प्रश्न गरे । उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयास पछि कात्तिकमा भेट्ने तय भए पनि रद्द गरेको आरोप लगाए। उनले ओलीका स्वकीय सचिवहरूलाई फोन गरेर समय मिलाउन आग्रह गरे पनि वास्ता नगरेको बताए ।

उनले कुनै खबर नआएपछि ओलीलाई फोन गर्दा समेत नउठाएको दाबी गरे । उनले अधिकांश पदाधिकारीलाई फोन गरेर वार्ताको लागि प्रयास गर्दा समेत ओलीको दम्भको कारण चासो नदिएको सुनाए ।