काठमाडौं, १४ बैशाख – नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनदेखि आन्दोलनरत शिक्षकहरूले आइतबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराका अनुसार, आन्दोलनकारीहरूले प्रहरीले राखेको ब्यारिकेड तोड्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो। “प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ, अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ, कुनै अप्रिय घटना घटेको छैन्,” एसपी बोहोराले सञ्चारकर्मीसँग बताएका छन्।
सरकारसँग बार्ता सफल नभएपछि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई अझ चर्काउने रणनीति बनाएको थियो। आज बिहान ११ः०० बजेदेखि शिक्षकहरू नयाँ बानेश्वर–माइतीघर सडक खण्डमा धर्ना बसेका थिए। निषेधित क्षेत्रमा प्रवेश प्रयास गरेपछि प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको हो।
शिक्षक महासंघका नेताहरूले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने, शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दबाब दिन आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। आन्दोलनकारीहरूले चेतावनी दिएका छन् कि माग सम्बोधन नभए थप कडा संघर्ष गर्ने बताएका छ्न।