तनहुँ, ६ जेठ – रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस तनहुँको डुम्रेमा विपरीत दिशाबाट आउँदै गरेको टिपरसँग ठोक्किँदा कम्तीमा सात जना यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुर्घटना आज बिहान बन्दीपुर नगरपालिका-१, डुम्रे नजिकै भएको हो । प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र बागमती प्रदेश ०१-००१-अ-यू ००५७ नम्बरको टिपर आपसमा ठोक्किँदा बसमा यात्रा गरिरहेका यात्रुहरू घाइते भएका हुन् ।
दुर्घटनामा घाइतेहरु रुकुम पश्चिम बाँकेकोट गाउँपालिका- ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका-का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।
प्रदेश १-०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन् ।
प्रहरीका अनुसार सो टिपर मुग्लिन-पोखरा सडकखण्ड विस्तार परियोजनाअन्तर्गत सञ्चालनमा रहेको थियो ।घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन् भने बस र टिपर दुबै गाडी डिपोमा लगिएको छ ।