काठमाडौँ, – नेपाली राजनीतिज्ञ तथा चर्चित प्रस्तोता विश्वप्रकाश शर्माद्वारा सञ्चालित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन आगामी असार २० गते शुक्रबारबाट प्रसारणमा आउने भएको छ। सामाजिक विसङ्गतिमाथि प्रहार गर्दै चार वर्षअघि पहिलो सिजनबाटै चर्चा कमाएको यो कार्यक्रमले यसपटक विकास निर्माणका मुद्दालाई आफ्नो मुख्य विषय बनाउने भएको छ।
कार्यक्रमका निर्देशक प्रकाश लामिछानेका अनुसार, तीन वर्षको अथक मेहनत र तयारीपछि दोस्रो सिजन तयार पारिएको हो। यस सिजनमा शर्मा एक सामान्य प्रस्तोताको भूमिकामा मात्र सीमित हुने छैनन्। उनले एक जनप्रतिनिधिकै रूपमा सरोकारवालाका प्रश्न सुन्ने, सांसदले संसदको रोस्ट्रमबाट सरकारलाई प्रश्न गरेझैँ विकासका मुद्दामा सरकारलाई घच्घच्याउने र समाधानका सूत्र खोज्न बहस चलाउनेछन्। यसले कार्यक्रमलाई थप जीवन्त र अर्थपूर्ण बनाउने विश्वास निर्माण टिमको छ।
‘ऐना’ को पहिलो सिजनले सामाजिक रूपान्तरणका पक्षमा आवाज उठाएको थियो भने दोस्रो सिजन पूर्ण रूपमा विकासका बहस, चुनौती र सम्भावनाहरूमा केन्द्रित रहनेछ। कार्यक्रमको प्रोमो हाल विभिन्न माध्यमबाट प्रसारण भइरहेको छ, जसले दर्शकमाझ कौतुहलता र उत्साह बढाएको छ।
यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार राति ९:०० बजे प्रसारण हुनेछ। टेलिभिजनमा प्रसारण भएलगत्तै कार्यक्रमलाई ‘ओएसआर रियालिटी’ को आधिकारिक युट्युब च्यानलमा पनि हेर्न सकिनेछ।