काठमाडौँ, १९ असार – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन आगामी मंसिर अन्तिममा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत सोमबारदेखि शुरू भएको बैठकको तेस्रो दिन तरूण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिर २६—२८ मा अनिवार्य सम्पन्न गर्ने गरी त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय भएको हो ।
त्यस्तै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय पनि पार्टीले गरेको छ । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
यसअघि पार्टीले तरुण दल लगायतका भ्रातृ एवं भगिनी संस्थालाई गत चैत मसान्तसम्मको समय दिएको थियो । आजको बैठकमा केन्द्रीय सदस्यहरू— श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना, आमन्त्रित प्रदेश सभापतिहरू— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) गरी १६ जनाले आ–आफ्नो धारणा राखेका थिए ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । बैठक बिहीबार दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । यसअघि सोमबार १० जनाले तथा मंगलबार २५ जनाले सम्बोधन गरेका थिए ।