नेपाली सेनाको हेलिकप्टरबाट त्रिशूलीको बाढीमा फसेका दुई जनाको उद्धार

by cityhalkhabar
3 views

काठमाडौं, लगातारको वर्षापछि आएको बाढीले त्रिशूली नदीको बीचमा फसेका एकै परिवारका दुई सदस्यको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । सोमबार दिउँसोदेखि रुखको साहारामा बसेका उनीहरूको उद्धार प्रयास सुरु भएको हाे । 

विदुर नगरपालिका-१ स्थित त्रिशूली नदी किनारमा घाँस-दाउरा गर्न गएका उनीहरू नदीमा पानीको सतह एक्कासि बढेपछि बीच टापुमा फसेका थिए । बाढीको भेलले टापुलाई समेत डुबाएपछि उनीहरू ज्यान जोगाउन नजिकैको रुखमा चढ्न बाध्य भएका थिए । सोमबारदेखि नै उनीहरू भोक र त्रासका बीच रुखको हाँगा समातेर बसिरहेका छन् । उनीहरू बसेको रुखलाई त्रिशूलीको उर्लंदो भेलले चारैतिरबाट घेरेको छ ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि नदीको तीव्र बहावका कारण सफल हुन सकेको थिएन । जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, नुवाकोटको पहलमा गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाइएको हो ।

हेलिकप्टर घटनास्थलमा पुगेसँगै उद्धार टोलीले फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने रणनीति बनाइरहेको छ । नदीको बहाव र प्रतिकूल मौसमले उद्धार कार्यलाई केही जटिल बनाए पनि छिटोभन्दा छिटो सफल बनाउन टोली लागिपरेको उद्धारमा संलग्न सुरक्षाकर्मीले जानकारी दिए ।