काठमाडौं, – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को दाउन्नेमा रहेको खुर्सानी खोलामा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । गएरातिदेखि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
वर्षाका कारण कमजोर बनेको सडक भासिएर ठूलो खाल्डो परेपछि त्यहाँ लु१क ५८२७ नम्बरको ट्रक फसेको थियो । जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनलाई बर्दघाटको टिसिएन चोकमा र पश्चिम आउने सवारीलाई दुम्किबासमा रोकिएको छ ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले सडक खुलाउने प्रयास भइरहेको तर निरन्तरको वर्षाले काममा बाधा पुगेको बताए । उनका अनुसार, सडक सुचारु हुन अझै केही समय लाग्नसक्छ ।
खुर्सानी खोला क्षेत्रमा सडक भासिने समस्या नौलो होइन । यो स्थानमा बर्सेनि यस्तै घटना दोहोरिँदा हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् । नारायणगढ-बुटवल सडकखण्ड विस्तार आयोजनाको काम जारी रहे पनि सबैभन्दा जोखिमपूर्ण मानिने दाउन्नेको १४ किलोमिटर खण्डको निर्माणमा भएको ढिलासुस्तीका कारण यात्रुले बर्सेनि यस्तै नियति भोग्न बाध्य छन् ।