काठमाडौं, – पर्साको जिराभवानी गाउँपालिकामा एक श्रीमानले आफ्नै पत्नीको हत्या गरेका छन् । शनिबार राति घरायसी विवादका क्रममा मदिराले लठ्ठ परेका जितेन्द्र माझीले २४ वर्षीया श्रीमती असपतलीयादेवी माझीको हत्या गरेको प्रहरीले जनाएको छ ।
पर्साका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार जिराभवानी गाउँपालिका-५ शंकरसरैयाका माझीले मादकपदार्थ सेवन गरी श्रीमतीसँग विवाद गरेका थिए । विवादकै क्रममा उनले असपतलीयादेवीको घाँटीमा मुक्का र लठ्ठीले हिर्काउँदा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले आरोपी जितेन्द्र माझीलाई नियन्त्रणमा लिइसकेको छ ।
प्रवक्ता लम्सालले जानकारी दिएअनुसार, ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी माझीमाथि थप अनुसन्धान अगाडि बढाइएको छ । सामान्य पारिवारिक कलहले यस्तो दुःखद घटना निम्त्याएपछि शंकरसरैया गाउँ शोकमा डुबेको छ ।