काठमाडौं, – महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखाबाट करिब तीन करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा बैंकका एक पूर्वशाखा प्रबन्धकसहित चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । बैंकको नगद भल्टबाटै रकम निकालेर अनियमितता गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी बैंकिङ कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखाका तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही रहेका छन् । डोटी घर भई कैलालीको भजनीमा बस्दै आएका शाहीसँगै नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउँद, ग्राहक सेवा कक्षकी २८ वर्षीया अम्बादत्त पन्त र कर्जा विभागका ३१ वर्षीय धनन्जय पन्तलाई पनि नियन्त्रणमा लिइएको छ ।
बैंकको गोकुलेश्वर शाखाबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा नोक्सानी भएको देखिएपछि बैंक प्रशासनले प्रहरीमा जाहेरी दिएको थियो । प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरूको आपसी मिलेमतोमा बैंकको भल्टमा रहेको नगद गैरकानुनी रूपमा भुक्तानी लिएर बैंकलाई हानि पुर्याएको खुलेको प्रहरीले जनाएको छ ।
आन्तरिक लेखा परीक्षणका क्रममा रकम हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकले अनुसन्धान गरी प्रहरीमा उजुरी गरेको थियो । सोही जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत, दार्चुलाबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।