काठमाडौं, ३० भाद्र – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) शपथ लिने कार्यक्रम रहेको छ ।
नयाँ सरकारमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूलाई जिम्मेवारी दिइएको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा जनमानसमा ‘लोडसेडिङ अन्त्य गर्ने नायक’का रूपमा परिचित कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ ।
यसैगरी, कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । अर्याल पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकारका रूपमा कार्यरत थिए ।
अर्थतन्त्रको व्यवस्थापनका लागि पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनको अनुभवले मुलुकको आर्थिक दिशालाई सही मार्गमा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
गत सोमबार र मंगलबार ‘जेनजी’ पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि गरेको प्रदर्शन हिंसामा परिणत भएपछि तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि मुलुकमा उत्पन्न राजनीतिक रिक्ततालाई पूर्णविराम दिँदै पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।