काठमाडौं, २० असोज – अविरल वर्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यस सडकखण्ड हुँदै गन्तव्यतर्फ जाने सम्पूर्ण सवारी साधनहरूलाई अहिले निर्वाध रूपमा आवतजावत गर्न दिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
असोज १७ र १८ गतेको भीषण वर्षापछि यस सडकखण्डमा पहिरो खस्ने क्रम बढेको थियो, जसका कारण यात्रा जोखिमपूर्ण बन्नुका साथै पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । जमिन गलेर कमजोर भएकाले जुनसुकै बेला पनि ढुंगा खस्न वा पहिरो जान सक्ने जोखिम कायमै रहेकाले सडक प्रयोगकर्ताहरूलाई उच्च सावधानी अपनाएर यात्रा गर्न प्रहरीले विशेष आग्रह गरेको छ ।
प्रहरीका अनुसार, चितवन भएर यात्रा गर्ने यात्रुहरूलाई बेलुका ९ बजेभित्र चितवन प्रवेश गरिसक्न र पोखरा वा काठमाडौंतर्फ जाने यात्रुहरूलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट बाहिरिसक्न अनुरोध गरिएको छ । राति ९ बजेपछि चितवन आइपुगेका सवारी साधनहरूलाई हिजो बेलुका आँपटारी क्षेत्रमा रोकेर राखिएको थियो । उनीहरूलाई आज बिहान ६ बजेदेखि मात्र गन्तव्यतर्फ जान अनुमति दिइएको छ ।