काठमाडौं, – विश्वभरका पासपोर्टहरूको शक्ति मापन गर्ने प्रतिष्ठित हेनले पासपोर्ट इन्डेक्स २०२५ ले यसपटक ठूलो परिवर्तन देखाएको छ । विगत २० वर्षमा पहिलो पटक, अमेरिकी पासपोर्ट विश्वका शीर्ष १० शक्तिशाली पासपोर्टहरूको सूचीबाट बाहिरिएको छ ।
हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित नयाँ प्रतिवेदन अनुसार, अमेरिकी पासपोर्ट अब १२ औं स्थानमा झरेको छ, जुन मलेसियाको बराबरीमा छ । अमेरिकी नागरिकहरूले अब २२७ मध्ये १८० देशमा मात्र भिसा बिना प्रवेश पाउन सक्छन् । यसको विपरित, सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ, जसले आफ्ना नागरिकहरूलाई १९३ देशमा भिसा बिना प्रवेश अनुमति दिन्छ । दोस्रो स्थानमा दक्षिण कोरिया (१९० देश) र तेस्रो स्थानमा जापान (१८९ देश) रहेका छन् ।
इन्डेक्समा नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत रहेको छ, जसले ३६ देशमा अनअराइभल भिसाको सुविधा प्रदान गर्दछ । यसको तुलनामा, भारतीय पासपोर्टले उल्लेख्य सुधार गर्दै ८ स्थान माथि उक्लँदै ७७ औं स्थानमा पुगेको छ र ५९ देशमा अनअराइभल भिसा पाउँछ । नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान जस्ता देशहरू छन् ।
किन कमजोर भयो अमेरिकी पासपोर्ट ?
अमेरिकी पासपोर्टको शक्तिमा आएको यो गिरावट धेरै कारणले भएको हेनले एण्ड पार्टनर्सका अध्यक्ष क्रिस्चियन एच. कालिन बताउँछन् । उनका अनुसार, धेरै देशहरूले अमेरिकी नागरिकहरूका लागि भिसा नियमहरू कडा बनाएका छन् । ब्राजिलले अप्रिलमा भिसा-फ्री प्रवेश समाप्त गर्नुका साथै चीनले आफ्नो भिसा-फ्री कार्यक्रममा अमेरिकालाई समावेश नगर्नु यसका प्रमुख उदाहरण हुन् ।
यसबाहेक, पपुवा न्यु गिनी, म्यानमार, भारत, सोमालिया र भियतनामका नयाँ भिसा नियमहरूले पनि अमेरिकी पासपोर्टको प्रभावलाई कमजोर बनाएका छन् । कालिन भन्छन्, ‘जो देशहरूले खुलापन अपनाएका छन्, ती अगाडि बढिरहेका छन्। पुरानो सोचमा अडिएका देशहरू पछि परिरहेका छन् ।’ विशेषज्ञ एनी फोर्जहाइमरले पनि अमेरिकी नीतिहरूको कठोर सोच नै अमेरिकी पासपोर्टको प्रभाव घट्नुको मुख्य कारण रहेको औंल्याएकी छिन् ।
अमेरिकी पासपोर्टको मात्र होइन, बेलायतको पासपोर्ट पनि कमजोर बन्दै गएको छ । सन् २०१५ मा पहिलो स्थानमा रहेको बेलायती पासपोर्ट यसपटक छैटौं स्थानबाट झरेर आठौं स्थानमा पुगेको छ ।
अर्कोतर्फ, चीनको पासपोर्टले भने उल्लेखनीय प्रगति गरेको छ । सन् २०१५ मा ९४ औं स्थानमा रहेको चीनको पासपोर्ट अहिले ६४ औं स्थानमा पुगेको छ । चीनले ३७ नयाँ देशहरूमा भिसा-फ्री पहुँच प्राप्त गरेको छ । यसले ७६ देशका नागरिकहरूलाई भिसा बिना आफ्नो देशमा प्रवेश अनुमति दिन्छ, जुन अमेरिका भन्दा ३० बढी हो । चीनले रुस, खाडी मुलुकहरू, दक्षिण अमेरिका र युरोपका धेरै देशहरूसँग भिसा-फ्री सम्झौता गरी आफ्नो कूटनीतिक प्रभाव विस्तार गरिरहेको छ ।
पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?
यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार वास्तविक–समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।
कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्याङ्किङ निर्धारण गरिन्छ । यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् । यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसाबिना पनि त्यस देशमा जान सक्ने नीतिलाई आधार बनाइन्छ ।