अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त, सतर्क रहन आह्वान

by cityhalkhabar
2 views

काठमाडौं, १३ कार्तिक – बिहीबार बिहानैदेखि देशभर भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । विशेषगरी काठमाडौं उपत्यकामा बुधबार रातिदेखि नै निरन्तर वर्षा भइरहेकाले दैनिक कामकाजमा ठूलो असर परेको छ । कार्यालय तथा अन्य अत्यावश्यक काममा निस्कनेहरूले सास्ती भोगिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, देशमा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रत्यक्ष प्रभाव परेको छ । यसका साथै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले पनि मौसममा बदली आएको हो । यसको फलस्वरूप देशभर बदली र वर्षाको क्रम जारी रहेको छ ।

आजको मौसम पूर्वानुमान: आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रहनेछ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र वागमती प्रदेशका अधिकांश स्थानहरूमा साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

रातिको मौसम पूर्वानुमान: आज राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रही तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र वागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ

विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात र कोशी, मधेस, वागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ । यस मौसमी प्रणालीले आगामी केही दिनसम्म जनजीवनमा असर पुऱ्याउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकाय र नागरिकहरूलाई अनुरोध गरिएको छ ।