एनपिएल-२ : चौथो खेलमा काठमाडौं र सुदूरपश्चिमबीच भिडन्त, कुन टिम बलियो ?

by cityhalkhabar
2 views

काठमाडौं. ३ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा बुधबार काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच त्रिवि क्रिकेट मैदानमा भिडन्त हुँदैछ । खेल दिउँसो ४ बजे सुरु हुने भएको हो ।

साविक विजेता जनकपुरलाई उद्घाटन खेलमा ५ विकेटले पराजित गर्दै काठमाडौं गुर्खाजले आफ्नो अभियानको उत्कृष्ट सुरुवात गरिसकेको छ । यो जितले टोलीको मनोबल उच्च बनाएको छ र दोस्रो खेलमा पनि सोही प्रदर्शन दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमाडौंले नामिबियाका कप्तान जेरार्ड इरास्मस, इंग्ल्यान्डका जोन सिम्पसन र बेन चार्ल्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासकनसेलोस, अमेरिकाका मिलिन्द कुमार र भारतका सन्नी पटेलजस्ता प्रभावशाली विदेशी खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको छ । पहिलो खेलमा मिलिन्द कुमारको शानदार प्रदर्शनले टोलीमा थप ऊर्जा थपेको छ । करण केसीको कप्तानीमा रहेको यस टोलीमा मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी लगायतका घरेलु खेलाडीहरू पनि छन् ।

एनपीएलको पहिलो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स यस पटक विजयी सुरुवात गर्ने योजनामा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले न्यूजिल्याण्डका स्कट कुगेइलिन, अमेरिकाका हर्मित सिंह, अष्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनजस्ता अनुभवी विदेशी खेलाडीहरूलाई मैदानमा उतार्दैछ । यद्यपि, टोलीको ठूलो भरोसा कप्तान दीपेन्द्र ऐरीमाथि नै रहेको देखिन्छ । विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा लगायतका घरेलु खेलाडीहरूले पनि टोलीलाई साथ दिनेछन् ।

एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रत्येक खेलका लागि ९ हजार ४ सय ५० टिकट बिक्री गर्ने जनाएको छ । लिग चरणका लागि सामान्य टिकटको मूल्य ५ सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफ पछिका खेलहरूका लागि सामान्य टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ रहनेछ । क्यानले सिजनल टिकटको मूल्य १५ हजार रुपैयाँ निर्धारण गरेको छ ।