एनपीएलमा आज पोखरा र सुदूरपश्चिम रोयल्स भिड्दै

by cityhalkhabar
2 views

काठमाडौं, ५ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ । दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

खेलमा दुई राष्ट्रिय स्टारहरू कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी आ-आफ्नो टोलीको नेतृत्व गर्दै आमने-सामने हुँदैछन् । आजको खेल केवल पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको प्रतिस्पर्धा मात्र होइन, यो राष्ट्रिय टिमका विस्फोटक ओपनर र चतुर अलराउन्डरबीचको रणनीतिक लडाइँ पनि हो ।

पोखरा एभेन्जर्सको कमान सम्हालेका कुशल भुर्तेल आफ्नो आक्रामक ब्याटिङ शैलीका कारण परिचित छन् । अघिल्लो खेलमा उनले प्रहार गरेको गगनचुम्बी छक्काले स्टार स्पोर्ट्सको कमेन्टेटर बक्सको सिसा नै फुटाएको घटनाले उनको ब्याटिङको ‘पावर’ प्रस्ट पार्छ । आजको खेलमा कुशल सोही लयलाई निरन्तरता दिँदै टोलीलाई पहिलो जित दिलाउने ध्याउन्नमा हुनेछन् ।

अर्कोतर्फ, सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । ‘टाइगर’ उपनामले चिनिने दीपेन्द्र मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा विपक्षीका लागि टाउको दुखाइ बन्न सक्छन् । अघिल्लो सिजनको उपविजेता समेत रहेको सुदूरपश्चिम, दीपेन्द्रको जादुयी प्रदर्शनको बलमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

जारी लिगमा पोखरा एभेन्जर्स अङ्कविहीन छ । लिग चरणमा बलियो पुनरागमन गर्न र अङ्क तालिकामा खाता खोल्न पोखराका लागि आजको खेल ‘गर या मर’ सरह छ । उता, पहिलो खेल जितेर २ अङ्क बटुलिसकेको सुदूरपश्चिम रोयल्स आफ्नो लय बिग्रन नदिने रणनीतिमा मैदान उत्रनेछ ।

हालसम्म विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले १-१ खेलबाट २-२ अङ्क जोडेका छन् भने काठमाडौं र चितवनले २ खेलबाट समान अङ्क हासिल गरेका छन् । जनकपुर, कर्णाली र पोखरा भने अङ्कको खोजीमा सङ्घर्षरत छन् ।

मङ्सिर १ देखि सुरु भएर २७ गतेसम्म चल्ने यस क्रिकेट महोत्सवमा दर्शकको उपस्थितिले कीर्तिपुरको माहोल उत्सवमय बनेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हरेक खेलका लागि ९ हजार ४ सय ५० टिकट बिक्री गर्दै आएको छ । लिग चरणका खेल हेर्न साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपियाँ टिकट दर तोकिएको छ (शनिबारका लागि भने यो दर क्रमशः ५ सय र १५ सय छ)। यस्तै, सिजनल टिकटको मूल्य १५ हजार रुपियाँ निर्धारण गरिएको छ ।