नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ (मसी) प्रहार

by cityhalkhabar
2 views

काठमाडौं, ७ मंसिर – मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना  युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि जेनजी युवाहरुले महेश बस्नेतविरुद्ध नारा लगाएको भिडियोमा देखिन्छ । गौतमले महेश बस्नेत र एमालेमाथि सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको  बताए ।

महेश बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’ कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै बस्नेतले यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।