कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि, कार्यतालिका सर्वसम्मत पारित

by cityhalkhabar
12 views

काठमाडौं, १५ मंसिर – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १५औं केन्द्रीय महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको छ। लामो छलफलपछि आज सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

कार्यतालिका अनुसार गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, र सातवटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिनेछ।

प्रवक्ता महतका अनुसार मंसिर २० गते भित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने, जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि २४ गतेसम्म तोकिएको छ। पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्नुपर्नेछ। क्रियाशील सदस्यताको अन्तिम सूची तयार गरी केन्द्रिय सभापतिलाई बुझाउने मिति पुस १४ गते तोकिएको छ। नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशिता, युवा पुस्ता र अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई समेत समेट्ने व्यवस्था गरिएको छ। विदेशस्थित जनसम्पर्क समितिको पनि अधिवेशन पुस १५ गते भित्र गरिसक्नुपर्ने निर्णय भएको छ।

कांग्रेसले सो महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति र केन्द्रीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ। पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर ती समितिहरूको गठन गर्ने निर्णय गरिएको प्रवक्ता महतले बताए।