समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान

by cityhalkhabar
11 views

काठमाडौँ, १९ मंसिर – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो ।

आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले यही मङ्सिर २४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्नेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति आउन अब अब ९० दिन बाँकी छ ।