काठमाडौं, १० पुस – वैकल्पिक शक्ति निर्माणको छलफलमा सहभागी हुन नेताहरू भेला हुन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन, कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ शाह कुपेण्डोलस्थित कुमार बनेको घरमा भेला हुँदैछन् ।
वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल पनि भर्खरै पुगेका छन् । सुदन गुरुङ भने यसअघि नै पुगिसकेका छन् । रास्वपा सभापति लामिछानेसँग असिम शाह, गणेश कार्की पनि छन् । यसअघि सोमबार राति लामो समय छलफल गरेका रवि र बालेनले आजको छलफलमा अन्य नेतालाई पनि सहभागी गराउन लागेका हुन् ।
यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।
अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए ।
बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् । आजै पनि उनले ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् ।
नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन् । आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।
नेता शर्माले भने- ‘हामी १० वर्ष पछि काङ्ग्रेसको सभापति हो । पार्टी छोड्ने कुरा हुँदैन । आज संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो ।’
