काठमाडौं, १३ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ। शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
पार्टीको सभापति रवि लामिछाने नै हुनेछन्। सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्लेख छैन।तर बालेन शाहका तर्फबाट केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा अद्यावधिक गर्ने समझदारी दुई पक्षबीच भएको छ।
बृहत एकतापश्चात पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने र त्यसमा युवा अभियानी एवं अनुभवी विज्ञलाई समायोजन गर्ने सहमतिमा उल्लेख छ। साथै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने जनाइएको छ।
बालेन शाह र रवि लामिछानेबिच यस्तो छ ७ बुँदे सहमति
१- नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने ।
२- समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने ।
३- पहिलो पक्ष र दोस्रो पक्षबिच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने ।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालचन्द्र शाह हुने ।
५- बृहत् एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।
६- आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।
७- राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने ।
