बङ्गलादेश — बङ्गलादेशमा सम्पन्न संसदीय निर्वाचनबाट बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित दर्ता गरेको छ। पार्टीले २९९ सिटमध्ये २०९ सिट जितेको बीबीसी बंगलाले जनाएको छ ।
निर्वाचनमा बीएनपीको नेतृत्व तारिक रहमानले गरेका थिए । जो १७ वर्षको लामो निर्वासनपछि सक्रिय राजनीतिमा फर्किएका हुन्। उनैलाई अब नयाँ प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।
शेख हसिनाको पार्टी अवामी लिग निर्वाचनमा सहभागी नभएका कारण बीएनपीलाई यसको प्रत्यक्ष फाइदा पुगेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ।
तारिक रहमान करीब १७ वर्षसम्म लण्डनमा राजनीतिक शरण लिएर बसेका थिए। उनी सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए भने १८ महिना जेलमा बसेपछि उपचारका लागि भन्दै लण्डन गएर उतै बसेका थिए। गत डिसेम्बर २६ मा मात्र उनी ढाका फर्किएका हुन्।
स्वदेश फर्किएको केही दिनमै उनकी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको थियो । जसपश्चात् तारिकले पार्टीको पूर्ण नेतृत्व सम्हालेका छन्। जनवरी ९ मा उनलाई औपचारिक रूपमा बीएनपीको अध्यक्ष चुनिएको थियो।
राजनीतिक पृष्ठभूमि र व्यक्तित्व
बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिकको जन्म २० नोभेम्बर १९६५ मा भएको थियो। उनको राजनीतिक यात्रा सन् १९८८ बाट सुरु भएको भए पनि २००१ को निर्वाचनपछि उनी पार्टीमा शक्तिशाली नेताका रूपमा उदाएका थिए। उनको नेतृत्वमा अहिले बीएनपीले दर्जनौँ र्याली र चुनावी अभियानहरू सञ्चालन गरेको छ।
विवाद र आरोपहरू
तारिक रहमानको राजनीतिक जीवन विवादमुक्त भने छैन। २००१ देखि २००६ सम्म बीएनपीको शासनकालमा उनी र उनका निकटवर्तीहरूमाथि हावा भवन मार्फत समानान्तर सत्ता चलाएको र व्यापक भ्रष्टाचार गरेको आरोप लागेको थियो। सन् २००४ मा शेख हसिनाको र्यालीमा भएको ग्रेनेड हमलामा पनि उनलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो।
यद्यपि, अवामी लिग सरकारको पतनपछि उनीमाथि लागेका धेरैजसो मुद्दाहरू खारेज भएका छन् र बीएनपीले यी सबै आरोपहरूलाई राजनीतिक प्रतिशोध मात्र भएको बताउँदै आएको छ।
आगामी चुनौतीहरू
अवामी लिग चुनावमा नभएको अवस्थामा बीएनपीका लागि बाटो सहज देखिए पनि अब उसको मुख्य प्रतिस्पर्धीका रूपमा कट्टरपन्थी मानिने जमात-ए-इस्लामी उदाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार तारिक रहमानले प्रतिकूल परिस्थितिमा पनि पार्टीलाई एकजुट राख्न सफल भएका छन्।
अब बंगलादेशको सम्भावित प्रधानमन्त्रीका रूपमा उनले जनताको विश्वास जित्ने र देशमा लोकतान्त्रिक स्थिरता कायम गर्ने ठूलो चुनौतीको सामना गर्नुपर्नेछ।
तारिक रहमानको यो पुनरागमनलाई धेरैले ‘खरानीबाट पुनः उठेर उभिएको’ नेतृत्वको रूपमा हेरेका छन्। अब बंगलादेशको नयाँ सत्ता सम्हाल्ने जिम्मेवारी उनको काँधमा आउने निश्चित जस्तै देखिएको छ।
