राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको न्याय माग्दै प्रदर्शन, घटनाबारे तीन नगर प्रहरीसँग सोधपुछ

by cityhalkhabar
0 views
काठमाडौं, २७ असार – काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग जाने भित्री सडकमा आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको न्यायको माग गर्दै शनिबार वीर अस्पताल अगाडि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। उता, घटनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तीन जना नगर प्रहरीसँग सोधपुछ सुरु गरेको छ। घटनास्थलमा उपलब्ध सीसीटीभी फुटेज, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा अन्य प्रमाणहरू समेत प्रहरीले केलाइरहेको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान तथा प्रत्यक्षदर्शीहरूको भनाइअनुसार गणेश नेपाली बिहीबार बिहान करिब ११ बजे यात्रु लिएर राहदानी विभाग पुगेका थिए। यात्रु ओरालेपछि उनी विभागको मुख्य प्रवेशद्वार रहेको २ नम्बर गेट अगाडि मोटरसाइकलसहित उभिएका थिए। त्यसक्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले त्यहाँ रोकिएका राइडरहरूलाई हटाउन थालेको थियो। प्रत्यक्षदर्शीका अनुसार एक महिला नगर प्रहरीले गणेशसहित अन्य राइडरलाई २ नम्बर गेटबाट करिब २०० मिटर तल रहेको ३ नम्बर गेटतर्फ जान निर्देशन दिएकी थिइन्। यही क्रममा २ र ३ नम्बर गेटको बीचमा गणेश र नगर प्रहरीबीच विवाद भएको बताइएको छ। त्यसपछि गणेशले पेट्रोल छर्केर आत्मदाह गरेका थिए। घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान जोगाउन सकिएन। यस घटनाले देशभर व्यापक चासो र बहस सिर्जना गरेको छ। घटनाको वास्तविक कारणबारे विभिन्न अड्कलबाजी भइरहेका बेला प्रहरीले अनुसन्धान नसकिएकाले अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। यता, मृतकका आफन्तले हालसम्म शव बुझेका छैनन्। शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। सरकारी पक्षले शुक्रबारदेखि नै परिवारसँग वार्ता सुरु गरे पनि हालसम्म सहमति जुट्न सकेको छैन। प्रहरीले निष्पक्ष अनुसन्धान गरी घटनाको यथार्थ सार्वजनिक गर्ने जनाएको छ।