काठमाडौं – कलंकी होटल तथा गेष्ट हाउस एशोसियसनको १४औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन एवं पदस्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
प्रतिनिधि सभा सदस्य माननीय प्रभा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराललगायत विभिन्न संघ-संस्थाका पदाधिकारी, पर्यटन सम्बन्धी व्यक्तित्व तथा ठूलो संख्यामा होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि माननीय प्रभा कार्कीले नेपाल प्राकृतिक रूपमा सुन्दर देश भए तापनि पर्यटन र होटल क्षेत्रमा धेरै बाधा-अड्चनहरू रहेको औँल्याउनुभयो। व्यवसायीहरूले भोग्दै आएका अनावश्यक कर र झन्झटिलो दर्ता प्रक्रियालाई सहज र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “होटल तथा पर्यटन क्षेत्रको प्रवर्धनका लागि नीतिगत र कानुनी सुधार गर्न म सधैं तत्पर रहनेछु। व्यवसायीका समस्या समाधानका लागि संसद् र सरकारका निकायहरूमा सहजीकरण गर्न म सदैव प्रतिबद्ध छु।”
कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले होटल क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूविरुद्ध महासंघ सधैं अग्रपंक्तिमा रहेर लडिरहने बताउनुभयो। उहाँले राज्यले पर्यटन तथा होटल उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र व्यवसायीको हक-हित संरक्षणका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भई पदभार ग्रहण गरेपछि सफल युवा व्यवसायी कुमार श्रेष्ठले होटल र पर्यटन केवल व्यापार मात्र नभएर नेपालको आतिथ्य सत्कारको संस्कृति र पहिचान भएको बताउनुभयो।
काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारका रूपमा रहेका कलंकी, बल्खु, कोटेश्वर जस्ता क्षेत्रहरूको महत्त्व दर्शाउँदै एशोसियसनका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यी क्षेत्रहरू केवल एउटा नाका मात्र होइनन्; देशका विभिन्न भू-भागबाट आउने र बाहिरिने हजारौँ यात्रुहरूका लागि भरोसा र आरामको पहिलो थलो हुन्। कुनै समय छोटो बसाइको माध्यम बनेका यहाँका होटलहरू आज आधुनिक र गुणस्तरीय सेवाको केन्द्र बन्दै गएका छन्।”
बढ्दो आर्थिक मन्दी, तीव्र व्यावसायिक प्रतिस्पर्धा र प्रविधिको प्रयोगजस्ता चुनौतीहरू औँल्याउँदै उहाँले अब सेवा र सोचमा नयाँ आयाम थप्नुपर्ने समय आएको बताउनुभयो। व्यवसायीका नीतिगत तथा स्थानीय स्तरका समस्या समाधान गर्न एशोसियसन सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाउँदै उहाँले व्यवसायलाई डिजिटलाइज गर्ने र तालिम तथा क्षमता अभिवृद्धि मार्फत जनशक्तिलाई अझ दक्ष बनाइने उल्लेख गर्नुभयो।
“‘अतिथि देवो भवः’ हाम्रो मूल मन्त्र हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हाम्रा अतिथिले लैजाने सम्झना केवल एउटा कोठाको होइन, हाम्रो संस्कार र सत्कारको हुनुपर्छ। विगतका नेतृत्वले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूले कोर्नुभएको बाटोमा नयाँ इट्टा थपेर अघि बढ्ने प्रण गर्दछु।”
नवनिर्वाचित कार्यसमिति
अधिवेशनले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूअध्यक्ष: कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष: श्याम चौलागाई, उपाध्यक्ष: राजु घिमिरे, महासचिव: अप्सरा थापा, सचिव: रेशम पुलामी मगर, कोषाध्यक्ष: माधव प्रसाद गौतम, सह-कोषाध्यक्ष: नहकुल भट्टराई, सदस्यहरू: तारा पराजुली, रोजिना खत्री, राज चौरेल, र सविन राई
संस्थामा योगदान पुर्याएका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।
